धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपाको विद्रोही समूहले बनायो नयाँ पार्टी, पार्टीको नाम नेकपा (बहुमत), ‘एकीकृत जनक्रान्ति’ खारेज

साझापोस्ट

२३ बैशाख, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिकरुपमा विभाजित भएको छ ।

चितवनको पर्सामा तीन दिनसम्म चलेको विद्रोही समूहको राष्ट्रिय भेलाले नेकपा(बहुमत) पार्टी  गठन गरेको छ । भेलाले फागुनमा महाधिवेशन गर्ने गरी नेता धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । महाधिवेशन फागुन १ गते काठमाडौंमा हुनेछ । आफ्नो समूह वैचारिक रुपले बहुमतमा रहेकोले नाम नेकपा (बहुमत) राखेको यो समूहको तर्क छ । रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकको सन्दर्भ अगाडि सारेर यो समूहले पार्टीको नाम नेकपा बहुमत राखेको छ । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ अल्पमत हुन्छ ।

भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णयसमेत गरेको छ । त्यसलाई खारेज गर्दै पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको संयोजक धर्मेन्द्र बास्तोलाले साझा पोष्टलाई जानकारी दिए । ‘विप्लवजीले अघि सार्नु भएको कार्यदिशा सारसंग्रहवादी भयो । जसले अगाडि सारेको हो त्यही सारसंग्रहवादी भएपछि त्यसलाई बोक्नु उचित ठानेनौं ।’ बास्तोलाले भने -त्यसैले अहिले हाम्रो बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा त भयो ।’

विप्लवले २०७१ मा ‘एकीकृत जनक्रान्ति’ काे कार्यदिशा अघि सारेका थिए। दाङको तुलसीपुरमा ९२०७१ पुस २३–२६० मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले उनको  कार्यदिशा पारित गरेको थियो । उनको त्यो कार्यदिशाको सार ‘किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने’ थियो ।

त्यस्तै विप्लवले प्राथमिकता दिएर उठाइरहेको वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारालाई पनि हाललाई छोडेको बस्तोलाले जानकारी दिए । त्यसको साटो ‘स्वाधीन संयुक्त राष्ट्रिय सरकार’को नारा अगाडि सारिएको उनले जानकारी दिए । यो समूहले स्वाधीन संयुक्त राष्ट्रिय सरकार, राजनीतिक स्थिरता र संसदीय व्यवस्थाको अन्त्य भन्ने नारा अगाडि सारेको छ ।
तर स्थानीय चुनावका विषयमा भने कपिलवस्तु बैठकले गरेको निर्णयलाई निरन्तरता दिइने बास्तोलाले बताए । स्वतन्त्र रुपमा उठेका पार्टीका नेता कार्यकर्ता र अरु देशभक्त वामपन्थी पार्टीका उम्मेदवारलाई भोट दिने बास्तोलाले जानकारी दिए ।