ओलीले संविधान संसोधन गर्न दिएनन्ः प्रचण्ड

साझापोस्ट

२४ बैशाख, जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन्।

नेकपा माओवादी केन्द्रले शनिबार धनुषाको मिथिला नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान पूर्ण गर्न नदिन एमाले र केपी शर्मा ओलीले भूमिका खेलेको आरोप लगाए । दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको तर ओलीका कारण छलफलै नभएको प्रचणडको दावी छ ।

‘तपाईँहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले भने, ‘र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईँहरूलाई थाहा छ या छैन। म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन। परिमार्जन हुन सकेन।’

प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको बताए । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए। गठबन्धनको पक्षमा देशभरी लहर आएको प्रचण्डको दावी छ ।