गठबन्धन टिकाउन साझा उम्मेदवारलाई जिताउन आवश्यक : देउवा

साझापोस्ट

२४ वैशाख, बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन टिकाउन र साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताएका छन्।

लुम्बिनी प्रदेशको बुटवलमा शनिबार सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका कायम राख्दै यसका उम्मेदवारले जित्न आवश्यक रहेको बतँए ।

‘गठबन्धन टिकाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक छ,’ सभापति देउवाले भने, ‘जिताएनौँ भने शंका उपशंका हुने कुरा हाम्रो पार्टीले गर्नै हुँदैन। अरु पार्टीले पनि गर्नु हुँदैन।’

पार्टीको १४औँ महाधिवेशनले मुलुकका लागि गठबन्धन आवश्यक भएको निर्णय गरिसकेको रुपमा उनले बताए ।

‘नेपाली कांग्रेसको महाधिवेशनमा पनि गठबन्धनलाई अगाडि बढाउने पूरा सपोर्ट गर्दै जान आवश्यक भएको हाम्रो पार्टीले निर्णय गरिसकेको छ,’ देउवाले भने, ‘प्रधानमन्त्री भइसकेपछि महाधिवेशन भएको हो। म गठबन्धन टिकाएर जान्छु। कमसे कम नेपालमा प्रजातान्त्रिक अधिकार, प्रजातान्त्रिक स्वतन्त्रलाई बचाएर राख्ने वाचा गर्दछु।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेलाई मत नदिन पनि मतदातासँग आग्रह गरे। ‘बारम्बार पार्लिायमेन्ट भंग गर्ने ओलीको पार्टी जिताएर के गर्नुहुन्छ ? ,’ प्रधानमन्त्री देउवाले प्रश्न गरे ।

ओली नेतृत्वको अघिल्लो सरकारले जनतामा डरत्रास देखाएको उनको आरोप छ।‘ ‘कर्मचारीलाई थर्काउने, जनतालाई तर्साउने काम भइराखेको थियो।’ देउवाले भने,–अहिले कुनै डरत्रास छैन। कुनै पनि विषयमा बोल्न पाइया छ ।’