ओलीलाई निमित्त नायक बनाएर स्थायित्व हुन नदिने षड्यन्त्र भइरहेको छः पौडेल

साझापोस्ट

२४ बैशाख, बुटबल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीकै कारण देश अस्थिरताको भूमरीमा फसेको आरोप लगाएका छन्। बुटवलमा आयोजित संयुक्त चुनावी सभामा शनिबार पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन ओलीलाई निमित्त नायक बनाएर विभिन्न कोणबाट षड्यन्त्र भइरहेको आरोप लगाए । ओलीले संसद्‍ र व्यवस्थालाई पगुं गराउन महान प्रपञ्च रचेको पौडेलको आरोप छ ।

उनले भने, ‘केपी शर्मा ओलीले संसद्‍माथि हमला गरे। संसद्‍ र व्यवस्थालाई पगुं गराउन महान प्रपञ्च गर्नुभएको छ। संसद्‍ चल्न नदिने मान्छेलाई जनताले यहीं रोक्नुपर्छ। यहीं रोकेर तालिम दिनुपर्छ।’

उनले देशमा राजनीतिक स्थिरता चाहिएको बताए। पौडेलले भने, ‘राजनीतिक अस्थिरताले गर्दा देश संक्रमणमा छ। प्रगतिशील शक्तिहरुको साझा दस्तावेजको रुपमा संविधान निर्माण गरेका छौं। देश बनाउने नेपाली कांग्रेसको मिसनलाई सफल बनाउनुपर्छ। ’ उनले नक्कली राष्ट्रवादबाट देशले धेरै धोका पाइसकेको बताए।

उनले बुटवलमा सुकुम्बासी समस्या समाधान, बाढीको समस्या समाधान गर्न गठबन्धनले पहल गर्ने पनि बताए । ‘बुटवललाई स्मार्ट सिटीका रुपमा विकास गर्नुछ,’ उनले भने, ‘नेपालको मुटुमा, लुम्बिनीको काखमा रहेको बुटवललाई विशेष खालको सहर बनाउने योजनालाई केन्द्रबाट काँधमा काँध मिलाएर सहयोग गर्नेछौं ।’