प्रचण्डको धम्कीले देउवा डराए, अरु डराउँदैनन्ः ओली

साझापोस्ट

२४ बैशाख, सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धम्काएको आरोप लगाएका छन् । भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने दुई दिनअघि प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले जनतालाई डर त्रास र धम्की नदिन चेतावनी दिए ।

एमाले इटहरीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले दुर्घटना हुने भनेर धम्की दिए पनि अन्तिमा चिसै पानीले नुहाउने ओलीको टिप्पणी छ । ‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ,’ उनले भने, ‘अन्तिममा उनले चिसै पानीले नुहाउने हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवा जस्तो अरू धम्कीले नडराउनेसमेत उनले बताए । ‘हिजो पनि धम्की दिनु भएजस्तो छ, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैं बहकी रहनुभएको थियो,’ ओलीले भने । ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट वञ्चित गरेको आरोपसमेत लगाए ।