गठबन्धन राष्ट्रिय आवश्यकता हो, संघीय निर्वाचनसम्म रहन्छ: देउवा

साझापोस्ट

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन संघीय निर्वाचनसम्म रहने बताएका छन । शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यकता भएको दावी गरे ।

 

देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको उनले बताए । ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन ।’ उनले भने– प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’

 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लगाए । गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको भन्दै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए ।