ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

साझापोस्ट

इच्छाराज तामाङको ५० प्रतिशत सेयर रहेको सुनधाराको सीटीसी मल लिलामी हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।

कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ वटा सटर छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका घरजग्गा व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको मल नै लिलामी प्रक्रिया अघि बढाएको हो ।

कोषले गत मङ्सिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न मललाई ताकेता गरेको थियो । सिभिल स्टेट्सले कोषबाट ऋण लिन सुनधारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ वटा सटरहरू नै धितो राखिएको थियो ।

ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङलाई गत असोज १८ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० को टोलीले पक्राउ गरेको थियो। उनी साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका थिए। पूर्वसांसद समेत रहेका तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ मा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।