इजरेली सेनाको गोली प्रहारबाट अलजजिराकी पत्रकारको मृत्यु

साझापोस्ट

२८ वैसाख, काठमाडौं । इजरेली सेनाको गोली प्रहारबाट अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहको मृत्यु भएको छ । इजरेली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा उनको गोल हानी हत्या गरिएको हो ।

अलजजिराका अनुसार रिपोर्टिङ गरिरहेको अवस्थामा उनीमाथि इजरायली सेनाले गोली हानेको थियो । ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा समाचार संकलनका लागि पुगेकी थिइन् ।

इजरेली सेनाकै आक्रमणबाट प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् । अजजिराले विज्ञप्ति निकालेर इजरेली आक्रमणको निन्दा गरेको छ । इजरेली सेनालाई जिम्मेवार बनाउन पनि अलजजिराले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

इजरेली सेनाको आक्रमणबाट अहिलेसम्म कैंयौं प्यलेस्टीनी पत्रकारको समेत ज्यान गइसकेको छ । तर त्यसबारे अनुसन्धानका लागि इजरेलले चासो देखाउने गरेको छैन । ह्युमन राइट्स वाचले इजरेली सेनाको आक्रमण सामान्य नभएको भन्दै विरोध जनाएको छ । यस्तै संचार सम्वद्द विभिन्न संस्थाले पनि इजरेली आक्रमणको कडा निन्दा गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन त्यहाँको सरकारसँग माग गरेका छन् ।