बाबुराम भट्टराईले फोटो खिचेर सार्वजनिक गरे भोट,१५ हजार जरिवाना हुन सक्ने

साझापोस्ट

३० बैशाख, काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले मतदान गरेको तस्वीरसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

 

पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्न छातामा मतदान गरेको देखिन्छ । तर उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेपनि भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका छन। । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

 

तस्विर: डा. भट्टराईको फेसबुक पेजबाट ।