पूर्व प्रधानमन्त्री भट्टराई र खोप्लाङका मतदान अधिकृतलाई निर्वाचन आयोगको स्पष्टिकरण, कारवाही गर्ने संकेत

साझापोस्ट

३० वैसाख, काठमाडौ ।  निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र मतदान अधिकृतलाई स्पष्टिकरण सोधेको छ ।
मत हालेको फोटो सार्वजनिक गरेपछि भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधिएको हो । यस्तै फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टिकरण सोधिएको छ ।

आयोगले भट्टराईलाई १५ हजार जरिवान किन नतिराउने भन्दै स्पष्टिकरण सोधेको छ । यस्तै गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई पनि किन क्यामरा लैजाँदा रोक्नुभएन भनेर सोधिएको छ ।
मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन तत्काल कारवाही भएन भन्दै आयोगले साँचो विवरण खुलाई यथासिघ्र प्रतिवेदन पठाउन भनेको छ ।

डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेपछि सामाजिक संजालमा चर्को वहस भैरहेको छ । यसबारेमा भट्टराईको तर्क भने गोप्य मतदान भए पनि आफ्नो मतपत्र सार्वजनिक गर्न पाईन्छ भन्ने छ ।