काठमाडौंमा बालेन शाहलाई झण्डै दोब्बर मतको अग्रता

साझापोस्ट

३१ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। सुरुवाती चरणमा बालेनले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । बालेनले १५ मत पाएका छ्न । गठबन्धनको तर्फबाट सिर्जना सिंहले ९ र नेकपा एमालेका केशव स्थापितले २ मत मात्र पाएका छन् ।

अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी महानगरको मेयरमा निर्वाचित हुन सक्ने विभिन्न प्रक्षेपणले देखाएका छन् ।

अघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो। पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।

शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।