म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

साझापोस्ट

काठमाण्डौ । अन्तिम खेलमा एस्टन भिल्लालाई नाटकीय ढंगले ३–२ ले हराउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गर्यो ।

सिटीलाई जिताउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै अग्रता दोब्बर पारेको भिल्लाले त्यसलाई जोगाउन सकेन । गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै खेल २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

सिटीले नजितेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । लिभरपुलले उल्भरह्याम्पटनलाई ३–१ ले हराएको थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो ।

विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंकका साथ चेल्सी र ७१ अंक जोडेको टोटेनह्याम हट्सपर चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनौट भए ।

६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो ।वाटफोर्ड, नर्विच सिटी र बर्न्ली पनि रेलिगेसनमा परेका छन ।