नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो ( बढेकाे तलब र खेलाडीकाे सूचि सहित )

साझापोस्ट

काठमाडौं । नेपाली क्रिकेट खेलाडीको तलब बढेको छ । नेपाल क्रिकेट संघ(क्यान)को मंगलबार बसेको बोर्ड बैठकले महिला र पुरुष खेलाडीको तलब बढाएको हो ।

क्यानले आफ्नो सम्झौतामा रहेका पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले तलब बढाएको छ । अब बढेको तलब अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले मासिक २१ हजार, बी ग्रेडका खेलाडीले १८ हजार र सी ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् । क्यानले ए र बी ग्रेडमा रहने खेलाडीको ६ हजारको दरले अनि सी ग्रेडमा रहने खेलाडीको ५ हजारले तलब बढाएको हो।

ग्रेड अनुसार खेलाडीको विवरण

पुरुषतर्फ :

ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी

ग्रेड बी – कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी

ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ

महिलातर्फ :

ग्रेड ए – रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी,

ग्रेड बी – सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे

ग्रेड सी – डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल

त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक  ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ ।

त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।