ईपीएललगायत अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानको निर्णय

साझापोस्ट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिने आधिकारिक घोषणा गरेको छ ।

मंगलबार सम्पन्न क्यान बोर्ड बैठकले हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरूले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै लिग सञ्चालन हुने भएकाले अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने घोषणा गरेको हो । यदि क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने भए अनुमति दिने क्यानले जनाएको छ ।

यसअघि एभरेष्ट प्रिमियर लिग र फ्रेन्चाइज क्लबहरूले पत्रकार सम्मेलन गर्दै लिग आयोजना हुन दिन माग गरेका थिए । तर त्यसलाई क्यानले धम्की भनेको थियो र क्यानले मान्यता नदिने घोषणा गरेको हो ।

यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेका एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाईज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् । क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमती लिएर सञ्चालन हुने पाउनेछन् ।