एमाले अध्यक्ष ओलीले तोडे आफ्नै नाममा रहेको रेकर्ड 

साझापोस्ट

काठमाडौं । संसदमा शून्य समय, सभामुखसँग समय मागेर र ढ्यापढ्याप पारेर सभामुखको ध्यानाकर्षण गरी समय लिएर तीन तरिकाले बोल्न पाइन्छ । शुन्य समय त केवल एक मिनेटको मात्र हुन्छ । त्यो समयमा सांसदले आफ्नो कुरा टुंग्याएनन् भने माइक काटिन्छ । ढ्यापढ्यापे समय ५/१० मिनेटको हुन्छ । अनि कुनै विधेयक वा अन्य कुनै निर्धारित विषयमा बोल्नका लागि दलीय आधारमा दल र नेताको हैसियत अनुसार प्राय ३ देखि २०/२५/३० मिनेटसम्मको समय छुट्याइएको हुन्छ । यसको मतलव संसदमा बोल्नका लागि समयको निक्कै ठूलो महत्व हुन्छ । जसलाई सा‌ंसदले सदुपयोग गर्ने प्रयास गर्छन् ।

बजेट भाषण गर्दा वा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने समय निर्धारण गरिएको हुँदैन त्यो तीन, चार घण्टासम्म पनि लाग्न सक्छ । तर पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा तीन घण्टा लामो संवोधन गरे । जुन संसद सचिवालयका अनुसार संभवतः नेपालको संसदमा सबैभन्दा लामो संबोधन हो ।

संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले भने, ‘यसअघि कस्ले कति लामो संबोधन गर्यो भन्ने एकिन त छैन तर मेरो जानकारीमा यति लामो संबोधन अहिलेसम्म कसैले गरेको छैन ।’

ओलीलाई छैन समयको लगाम

संसदमा बोल्नका लागि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई समय निर्धारण गरिएको हुँदैन । ओली पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हुन् । एमाले प्रमुख प्रतिपक्षी दल हो त्यसैले ओलीलाई जति लामो बोल्न पनि छुट छ । समय पाएको बेलामा ओलीले त्यसलाई सदुपयोग गरे ।

पट्यार लाग्दो भाषणले हाई काढ्दै सांसद

तीन घण्टा एउटै विषयको पट्यार लाग्दो ओलीको भाषणले सांसदहरु भने दिक्दार देखिन्थे । एमाले बाहेकका अधिकांश सांसद पट्यार छल्न क्यान्टिन तिर लागेका थिए भने संसद हलमा भएकाहरु हाई काढ्दै ओलीको भाषण सुनिरहेका थिए । कोही भने निद्राको तालमा देखिन्थे ।

संबोधनको सार

बिहीबारको संसद बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल थियो । तीन घण्टा लामो संबोधानमा ओलीले अधिकांश समय पाँच दलीय गठबन्धन र सरकारको विरोध गर्न खर्चिए । चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप लगाए । उनले ऐन विपरित सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाउन पनि पछि परेनन् ।

लामो संबोधनले दिन खोजेको सन्देश

एमाले अध्यक्षा ओली शारिरीक रुपले त्यति स्वस्थ छैनन् । केही दिन अघि स्थानीय चुनाव लगत्तै पनि विरामी परे । विरामी भएकै कारणा पार्टीले औपचारिक रुपमा आयोजना गरेको मदन आश्रित स्मृती समारोहमा पनि सहभागि भएनन् । उनी नियमित स्वास्थ्य फ्लो अफमा पनि गइरहेका छन् । केही दिन अघि सार्वजनिक भएको उनको अडियो संवादमा पनि ‌ओलीले सो कुरा बताएका थिए ।
बिहीबारको संसद बैठकमा पनि उठेर संवोधन गर्न नसक्ने बताए पछि उनलाई कुर्चीको व्यस्था मिलाइएको थियो र बसेरै बोलेका थिए । तर ओलीले आफू अस्वस्थ रहेर पनि स्वस्थ रहेको पार्नका लागि लामो बोलेको अनुमान गरिएको छ ।

आफ्नै नाममा रहेको रेकर्ड ब्रेक
संसदमा सबैभन्दा लामो भाषण गर्ने नेताको रेकर्ड यसअघि पनि एमाले अध्यक्ष ओलीकै नाममा रहेको थियो । २०७३ बैशाख २३ गतेको संसद बैठकमा तत्कालिन प्रधानमन्त्रीको रुपमा ओलीले १ घण्टा ५२ मिनेट बोलेका थिए । त्यस बखत उनले सरकार परिवर्तनको चर्चा चलिरहेका बेला संसदमा सम्बोधन गर्दै ओलीले आफू संसदप्रति बफादार रहेको बताउँदै संसद विघटन हुने भन्ने कुरा हल्ला मात्र भएको बताएका थिए ।