श्रीमतीको हत्या गर्ने पूर्व डिआईजी कोइरालाको कैद घटाउने आफ्नै फैसला सर्वोच्चले उल्टायो, अझै साढे ११ वर्ष जेल बस्नुपर्ने

साझापोस्ट

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला उल्ट्याएको छ ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो ।

कैद घटाएपछि कोइराला कारागारबाट छुटेका थिए ।  यो फैसलाका कारण उनी अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ ।  यसअघि कोइराला साढे ८ वर्ष मात्र कैद बसेका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्ष अघि कोइरालाको कैद मिनाहा गरेको थियो ।  यो फैसलापछि जबरा र केसीको चौतर्फी आलोचना भएको थियो ।

श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका कोइरालालाई यसअघि जिल्ला र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय तोकेका थिए । तर  मुद्धा सर्वोच्चमा पुगेपछि जबरा र केसीले त्यसलाई साढे आठ वर्षमा झारेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती हत्या गर्ने कोइरालाको काममा ‘आवेश’ देखिएको र उनको घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहा गरेको  थियो ।

जबरा र केसीको इजलासले गरेको कैद घटाउने फैसलामाथि चौतर्फी प्रश्न उठेपछि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो ।