बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुने, जिल्लाका सुरक्षा अधिकारीलाई कारवाही गर्न आयोगको निर्देशन

साझापोस्ट

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ । वैसाख ३० गते भएको चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले फेरी मतदान गर्ने निर्णय गरेको हो ।

वैसाख ३० गते चुनाव निष्पक्ष बनाउन नसकेको भन्दै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई हटाएर अरु कर्मचारी पठाउन सरकारलाई निर्देशन समेत दिएको छ ।

उनीहरुलाई तीन दिनभित्र हटाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गर्न र त्यसको जानकारी दिन पनि आयोगले सरकारलाई भनेको छ ।

नगरका कतिपय वडामा ९९ प्रतिशतसम्म मत खसेपछि दलहरुबीच आरोप प्रत्यारोप शुरु भएको थियो । ४ वटा वडामा एमालेले मतदान केन्द्र कब्जामा लिएर एकलौटी मतदान गराएको कांग्रेस सहितका दलले आरोप लगाएका थिए ।

एमालेले पनि कांग्रेसले दुईवटा वडाका बुथ कब्जा गरेको बताउँदै आएको छ । तर कांग्रेसले पुनः मतदानको माग गरेको थियो भने एमालेले अहिलेकै अबस्थामा गणना गर्नुपर्ने अडान राखेको थियो ।

विवाद बढेपछि अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली बाजुरा पुगेको थियो । टोलीले दिएको सुझाव अनुसार नै आयोगले बिहीबार फेरी मतदान गराउने निर्णय गरेको हो ।