काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउन प्रयास गर्छु: बालेन साह

साझापोस्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले शहरलाई विश्वकै उत्कृष्ट शहर बनाउन आफ्नो क्षमता प्रयोग गर्ने बताएका छन् ।

मेयर निर्वाचित भएको आधिकारिक घोषणापछि प्रतिक्रिया दिँदै शाहले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनमा लगाउने  प्रतिबद्धता जनाए । अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई विकसित शहर बनाउन लगाउने उनको भनाई छ ।

निर्वाचन आयोगले बालेन काठमाडौंको मेयरमा निर्वाचित भएको आज आधिकारिक रुपमा घोषणा गरेको हो । उनले कांग्रेस र एमालेका उम्मेद्वारलाई फराकिलो अन्तरले हराउँदै मेयर जितेका छन् ।

नगरका बासिन्दाले दिएको अत्यधिक मतलाई आफुले ऊर्जाको रुपमा लिएको भन्दै उनले यो जिम्मेवारीलाई शत प्रतिशत पुरा गर्न समय दिने बताए । घोषित परिणाम अनुसार बालेनले ६१ हजार ७६७ मत पाएका छन् ।

उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका सिर्जना सिंहले ३८ हजार ३४१ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत मात्रै पाए । आज बालेन समर्थकले काठमाडौंमा धन्यवाद र्‍याली गरिरहेका छन् ।