यस्तो छ काठमाडौं महानगरको अन्तिम परिणाम, बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा धेरै मत

साझापोस्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । मेयरमा बालेन शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् ।

चुनावअघि धेरै चुरीफुरी देखाएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई मतदाताले तेस्रो स्थानमा पुर्‍याइदिएका छन् । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह आएकी छन् ।

बालेनले ६१ हजार ७६७ मत पाउँदा दोस्रो स्थानकी सिंहले ३८ हजार ३४१ र स्थापितले ३८ हजार १४१ मत पाएका छन् । सिंह भन्दा बालेनले २३ हजार ३३५ बढी मत ल्याएका छन् । बालेनले पाएको मत करिव ३२ प्रतिशत हो ।

बालेनलाई कोटेश्वर क्षेत्रबाट सबैभन्दा बढी भोट आएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घर समेत रहेको ३२ नम्वर वडा उक्त क्षेत्रमा पर्छ । त्यहाँबाट उनलाई ४६ प्रतिशत मत आएको छ ।

अनुमान अनुसार नै चौथो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी आएका छन् । उनले १३ हजार ७७० मत पाए । महानगरमा करिव १६ प्रतिशत मत बदर भएको छ । ३२ वडामध्ये कांग्रेसले १९ वडामा जित हासिल गरेको छ ।

यसले नगर कार्यपालिकामा कांग्रेसको बहुमत भएको छ । एमाले १२ वटामा सिमित भएको छ । एउटा वडा भने एकीकृत समाजवादीले जितेको छ ।

महानगरको अन्तिम परिणामपछि सुदीप पौडैल र अशोक श्रेष्ठले तयार पारेको यो सिटले कुन वडामा कसले कति मत पायो भन्ने समेत देखाउँछ ।