आपुर्ति मन्त्री बडुले ओलीको बोलीलाई स्तरहिन भनेपछि संसदमा हंगामा

साझापोस्ट

काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडुका अभिव्यक्तिलाई लिएका नेकपा एमालेका सांसदले आज प्रतिनिधिसभा बैठकमा हंगामा गरेका छन् । आफ्ना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेताविरुद्ध मन्त्री बडूले ‘जथाभावी’ बोलेको भन्दै एमालेका संसद् आक्रोशित भएका हुन् ।

एमालेको चर्को विरोधपछि संसद बैठक स्थगित गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय लिएर बोल्दै गर्दा मन्त्री बडुले ओलीले बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा बोलेको कुरा झुटो र ‘स्तरहीन’ भएको टिप्पणी गरेका थिए । उनले भने, ‘सम्मानित सदनको रोष्टम प्रयोग गरेर जनतालाई आधारहिन र झुटा सन्देश सम्प्रेषण गर्ने प्रतिपक्षी दलका नेतालाई म आरोप पुष्टि गर्न चुनौती दिन्छु।’ बडुले ओलीको भनाई भ्रामक, स्तरहिन र खेदजनक रहेको बताए लगत्तै एमाले सांसदले आपत्ति जनाएका थिए ।

एमाले सांसद खगराज अधिकारीले ‘स्तरहीन’ शब्द गालीगलौज भएको भन्दै नियमापत्ति गरे। उनले मन्त्रीले स्तरहीन भनेर गालीगलौज गर्न नपाइने भन्दै शब्द फिर्ता लिन माग गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गरे। तर, मन्त्री बडु रोकिएनन्। बरु उनले थपे, ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ’ भन्ने उखान स्मरण गराउँछ।’

उनले प्रयोग गरेको उखानले एमाले सांसद्लाई थप उत्तेजित बनाएको थियो । ‘आफू प्रम हुँदा कमिसन नै कमिसनको चास्निमा रमाइरहेकाले सत्ता गुमाउँदा कमिसनबाहेक के देख्न र सोच्न सक्दछ ? भन्ने प्रश्न गर्दै मन्त्री बडु पनि आक्रोशित भएका थिए । त्यही क्रममा उनले सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न एमालेलाई व्यङ्गात्मक आग्रह गरे ।

बडुले यति भनेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा प्रयोग भएको टिप्पणी गरे ।

उनले भने, ‘मन्त्रीबाट आफ्नै गरिमा घटाउने काम भएको छ, संसद्को गरिमा पनि घटाउने काम भएको छ। यस्ता अभिव्यक्ति रेकर्डबाट नहटाइ एमाले पछि हट्दैन।’ बैठक अवरोध गर्छ ।’ ओलीमाथि मन्त्रीले लगाएको आक्षेप सामान्य रुपमा लिन नमिल्ने बताउँदै उनले संसदीय छानबिन समितिको माग पनि गरेका छन् ।

सभामुख सापकोटाले मन्त्रीलाई बोल्न बाँकी भए आफ्ना भनाई राख्न समय दिए। एमालेको अवरोधकै बीच केही स्पष्ट पार्न खोजे पनि वातावरण सहज नभएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए ।