१५ मिनेटका लागि स्थगित भएको संसद बैठक अझै शुरु भएन

साझापोस्ट

काठमाडौं । नेकपा एमालेले अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक दुई घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन ।एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गरेपनि एमालेले बैठक चल्न नदिने बताए लगत्तै १५ मिनेटका स्थगित भएको थियो । सहमति गरि संसद चलाउनका लागि स्थगित गरिएको बैठक चल्न सकेको छैन । समय परिवर्तन गरेर दुई बजेका लागि तय गरिएको बैठक पनि शुरु हुन सकेन ।

 

त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।नेपाल आयल निगम निजीकरण गर्न लागिएको, आधा कमिसन खाएको तथा आधा लिन बाँकी रहेको आधारहिन कुरा ओलीले गरेको भन्दै मन्त्री बडुले प्रतिवाद गरेका थिए । एमालेलाई आरोपको पुष्टि गर्न मन्त्री बडुले चुनौती दिएपछि बडुको विचारलाई रेकर्डबाट हटाउन प्रमुख प्रतिपक्ष दल एमालेले माग गरेको छ ।

सभामुख, सत्ता पक्षका सांसद तथा एमालेका सांसदहरु बीच छलफल भइरहे पनि बडुको बोली रेकर्डबाट हटाउने मागमा सहमति हुन सकेको छैन ।आजको बैठकको नीति तथा कार्यक्रम माथिको छलफल र आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची थियो ।