तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना होला ? यस्तो आयो अदालतको आदेश

साझापोस्ट

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेसँगको गठबन्धनमा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले लिखित जवाफ पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आयोगलाई यस्तो आदेश दिएको हो ।

मतगणना कार्य बदर गरी दोहोर्‍याई मतगणना गरीपाउँ भन्दै जोशीले रिट दायर गरेका थिए । यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? मागबमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कानूनसम्मत आधार र कारण भए आफ्नो प्रमाणसहितको लिखित जवाफ पेश गर्नु भनी आदेश दिएको हो । त्यसका लागि १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक कांग्रेस उम्मेदवार बैकुण्ठ नाथ न्यौपानेसँग ७ सय ४८ मतान्तरले पराजित भएका थिए ।