केकेको पोस्टमार्टम रिपोर्ट, तत्काल सीपीआर दिएको भए बाँच्ने संभावना

साझापोस्ट

काठमाडौं । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को मृत्यु हुनुको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट भएको छ । कन्सर्टका  बेला धेरै उत्साहित हुँदा उनको मुटुमा रगत प्रवाह ८० प्रतिशत अवरुद्ध भएको थियो । त्यसकै कारण उनको ज्यान गएको चिकित्सकले बताएका छन् ।

बेहोस हुनासाथ तत्काल सीपीआर (छाति दबाएर गरिने उपचार) दिएको भन्दै उनको ज्यान बच्च सक्ने संभावना रहेको पनि रिपोर्टमा उल्लेख छ । केकेको मंगलबार राति कोलकातामा कन्सर्ट लगत्तै मृत्यु भएको थियो ।

केकेलाई लामो समयदेखि छातिमा दुखाई भैरहेको र उनले त्यसका लागि पेनकिलर औषधि  सेवन गरिरहेको पनि खुलेको छ । कन्सर्टको  आसपास उनले पत्नीसँग काँध र हातमा दुखाई बढेको सुनाएका थिए ।

पोस्टमार्टम रिपोर्टमा मुख्य तीन विषय खुलेको छ । उनको मुटुमा रक्त प्रवाह ८० प्रतिशत अवरुद्ध भएको थियो । लाईव सोमा केकेले वरिपरि घुमेर नाच्दा रक्त प्रवाहा रोक्न भूमिका खेलेको थियो । त्यसपछि उनी बेहोस भएर ढलेका थिए । त्यहीबेला सीपीआर दिन सकेको भए उनी बाँच्न सक्ने पनि रिपोर्टमा उल्लेख छ ।

५३ वर्षीय गायक केकेको बिहीबार अन्त्येष्टी गरिएको छ ।

एजेन्सी