काठमाडौं: गुड्न पनि सकस, हिँड्न झन सकस (फोटो फिचर)

साझापोस्ट

काठमाडौं । देशको संघीय राजधानी हो काठमाडौं । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरुभन्दा अगाडी नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमडौंको अवस्था त्यही पुरानो नै छ ।

काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढदैछ । एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ ।

तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन । काठमाडौं उपत्यका भित्रका सडकहरुले काठमाडौंको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौं जोडने सडकहरुको नै मर्मतसम्भार हुन सकेको छैन । जसकाकारण ठूला ठूला खाडल बनेका छन । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ ।

 

त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ । काठमाडौंलाई कतिपयले अव्यवस्थित शहरको उपमा दिन थालिसकेका छन ।

 

ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुडने सडक नै व्यवस्थित छैनन, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन । चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैं बग्छन् ।

 

 

यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ । पानी पर्यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ, किनभने खराब सडककै कारण दुर्घटनामा परेर सयौंले ज्यान गुमाइसकेका छन ।

 

 

नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन ।

 

अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन । यस बारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँडनुको अर्को विकल्प छैन ।

शब्द/ तस्वीर: न्यूज एजेन्सी नेपाल