एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

साझापोस्ट

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत पाए । अध्यक्षमा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि उम्मेदवारी दिएका थिए । तर उनले मत नै पाएनन् ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर खड्का विजयी भएका छन । उनी ४४ मत ल्याएर विजयी हुँँदा शेर्पा प्यानलका शिक्षित पराजुलीले ४० मत ल्याए । यस्तै चार उपाध्यक्षमा नेम्वाङ समूहका दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र शेर्पा समूहका दीर्घबहादु्र केसी विजयी भएका छन । नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान उपेन्द्रमानसिंह उपाध्यक्षमा पराजित भएका छन ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

अभियानमा नेम्वाङले कर्मालाई नेता मानेर सहयोग पनि गरेका थिए । । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएपछि दुरी बढ्दै गएको थियो । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए ।