रवि लामिछानेका दाइ हरिशरणको घोषणा: रविको पार्टीमा आजीवन लाग्दिनँ

साझापोस्ट

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेका दाजु हरिशरण लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन नलाग्ने घोषणा गरेका छन । रविले नयाँ पार्टीको घोषणा गरेपछि उनका समर्थक खुशी भैरहेका बेला उनका सहोदर दाजुबाट घुमाउरो ढंगले असन्तुष्टि प्रकट भएको हो ।

रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका छन । रविको घोषणा अनुसार त्यो पार्टीमा लाग्दा परिवारवाद देखिने हरिशरणको आशय छ । ‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टीमा म आजीबन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।’ उनले लेखेका छन् ।

हरिशरणले व्यंग्यात्मक टिप्पणी समेत गरेका छन । उनले– ‘कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’

स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । उनले भनेका छन–नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ ।’ ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।काठमाडौंको क्षेत्र नम्बर ३ बाट लड्ने उनको तयारी छ । रविले पनि यही क्षेत्रबाट चुनाव लड्ने इच्छा व्यक्त गरिरहेका छन् । आज घोषणा कार्यक्रममा भने रविले आफू कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने खुलाएनन् ।