रवि लामिछानेको पार्टी निर्वाचन आयोगले दर्ता गर्नुहुँदैनः एमाले नेता सूर्य थापा

साझापोस्ट

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने विचार व्यक्त गरेका छन । पार्टीको नाममा ‘स्वतन्त्र’ जोडेकोमा थापाको आपत्ति छ । लामिछानले नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेर दलमा नलागी स्वतन्त्र रुपमा चुनाव लड्न पाउने कानूनी अधिकार छिनेको थापाको तर्क छ ।

‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो।’ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र थापाले फेसबुकमा लेखेका छन– व्यक्तिले दलमा लाग्दिनँ, स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो।’

लामिछानेको पार्टीले स्वतन्त्र उम्मेदवारीमै भ्रम र अन्यौल उत्पन्न गरेको उनको दावी छ । थापा लेख्छन–स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन।’ रवि लामिछानेको पार्टीका विषयमा सामाजिक सञ्जालमा टिका टिप्पणी भैरहेका बेला थापाले बोलेका छन ।