किर्ते मुद्दामा दोषी ठहरिएपछि प्रदेश १ की एमाले सांसद खातुन पदमुक्त

साझापोस्ट

काठमाडौं । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छिन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि खातुन पदमुक्त भएकी हुन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि सांसद खातुन मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च गएकी थिइन् ।

सर्वोच्चले माग निवेदनबमोजिम मुद्दा दोहोर्‍याउन अनुमति नदिएपछि खातुन सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुष्मालता माथेमाको इजलासले उनको निवेदनमा मागअनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्‍याउन अनुमति नहुने आदेश जेठ २५ मा दिएको सार्वजनिक भएको छ ।

जिल्ला अदालत मोरङले ०७४ वैशाख ३१ मा उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो । त्यसपछि खातुन पुनरावेदनका लागि ०७४ माघ ३० मा उच्च अदालत विराटनगर गएकी थिइन् । तर, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले ०७६ पुस ६ मा जिल्लाको फैसलामा गरिएको जरिवाना उल्टाउँदै बिगोबराबरको जरिवाना गर्ने फैसला सुनाएको थियो । उच्चले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोक्ने जिल्लाको आदेश सच्याउँदै एक वर्ष कैद र १४ हजार पाँच सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना हुने ठहर गरेको थियो ।

मुद्दामा पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा बसेका थिए । खातुन १० हजार धरौटीमा रिहा भएर उच्च अदालतमा मुद्दा लड्दै आएकी थिइन् । उच्चले समेत कैद सजायसहितको फैसला गरेपछि भने उनी फरार भएकी थिइन् ।