१० जना खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय

साझापोस्ट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षकसँगको विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए ।प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

घटनाबारे छानविन गर्न गठित छानविन समितिले समेत प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन तयार पारेको थियो ।खेलाडी प्रशिक्षकको घटना एन्फा चुनावमा मुख्य एजेण्डा बनेको थियो । निर्वाचित भए लगत्तै खेलाडीको मुद्धालाई सम्बोधन गर्ने प्रतिबद्धता वर्तमान नेतृत्वले जनाएको थियो ।

एन्फा पहिलो बैठकले खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । बैठकले छानविन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई आवश्यक निर्देशन दिएको छ ।