भक्तपुरमा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन

साझापोस्ट

काठामाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशामा गुडिरहेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको निधन भएको हो ।

मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । अर्का युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।