लम्बियो मन्त्री हेरफेरको काम, दबाबमा देउवा, यस्तो छ प्रधानमन्त्रीको तयारी

साझापोस्ट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशन समापन भएपछि मात्र मन्त्री परिषद् हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन पछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका हुन । नेकपा एसको सचिवालय बैठकले मन्त्रि हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।

 

 

दुई साताअघि एकीकृत समाजवादीले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चारजनाईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

 

 

सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिएपछि प्रधानमन्त्रीले बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने’ भन्दै एकीकृत समाजवादीको निर्णय कार्यान्वय गरेका छैनन् । देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि एकीकृत समाजवादीमा किचल सुरु भएको छ ।

 

 

बहालवाला मन्त्रीहरुले पार्टीको निर्णय वारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् । तर, एकीकृत समाजवादीमा नयाँ अनुहार थपेपछि कांग्रेस, माओवादी केन्द्र र जसपामा पनि मन्त्री हेरफेर गर्नु पर्ने दवाव बढेको छ ।

 

 

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्राब्धान छ । त्यही कारण प्रधानमन्त्री देउवाले अहिलेसम्म नेकपा एकीकृत समाजवादीबाट दबाब आउँदा पनि मन्त्री हेरफेर गरेका छैनन् । प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी छ ।