विप्लवलाई छोडेका ओमप्रकाश पुन भन्छन– सानो होईन, ठूलो मैदानमा खेलौं

साझापोस्ट

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् । ‘जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने’ उनीहरुले राजीनामा दिएका छन । यस विषयमा हामीले विप्लवलाई छोडेका नेता ओमप्रकाश पुनसँग कुराकानी गरेका छैनौं ।

पार्टीबाट राजिनामा दिनु भएछ किन ?

-अहिले पार्टीहरु सोलोडोलो एकतामा जाने स्थिति सृजना भएको देखिएन । त्यसैले हामीले एकताका लागि पहल गरौं र माओवादीहरुलाई ध्रुबीकरणमा लैजान जोड दिउँ भनेरनै राजिनामा दिएका हौं ।
किनकी साना साना पार्टीहरु बनाएर हुँदैन ।

उसो भए अहिले को कोसँग कुरा भइरहेको छ त ?
– मूलतः प्रचण्डजीहरुसँग  छलफल भइरहेको छ । सिंगो कम्युनिष्ट आन्दोलन एकतावद्ध र ध्रुबीकरण गर्ने विषयमा पहल गरौं भन्ने विषयमा केन्द्रीत भएरै प्रचण्डजी सकारात्मक छलफल भैरहेको छ । र उहाँ  पहल गर्नुपर्छ भनेर नै लाग्नु भएको छ । माधव नेपालजीहरुसँग पनि छलफल गर्यौं । नेकपा बहुमत बनाएर गएका साथीहरुसँग पनि छलफल भएको छ । तर मुख्यतः प्रचण्डजीसँगै सकारात्मक छलफल भैरहेको छ ।

राजीनामा दिनुअघि विप्लवजीसँग यो कुरा राख्नु भयो कि भएन ?

-कुरा राखियो । अस्तिको केन्द्रीय समितिमा पनि मैले यो कुरा राखेको थिएँ । ‘ध्रुवीकरणमा जोड गर्नुस सानो ठाउँमा होइन, ठूलो फिल्डमा खेलौं । तपाईले आफ्नो विचार पनि ठूलै फिल्डमा राख्नुस्’ भने मैले । उहाँले महाधिवेशनको डकुमेन्टमा थोरै केही कुरा त लेख्नु भएको छ । तर अहिले नै उहाँले त्यति ठूलो इच्छा शक्ति जाहेर गरेको देखिएन ।

यही कुरा अलि पहिले गरेको भए हुने थिएन ?

-हाम्रो कुरा चलिरहेको थियो तर साथीहरुको बुझाइ आफ्ना आफ्नै रहे ।  एकतावद्ध गर्ने कुरा कहाँनेर नमिलेको हो, खोजौं बहस गरौं भन्ने हो । यता विप्लवजीहरुले केही समय लिएर संसदीय राजनीति गर्नेनै देखियो । नेकपा बहुमतवाला साथीहरु पनि बहिस्कार गर्ने स्थितिमा नरहेको र एकताका लागि प्रचण्डहरुसँगै छलफल गरिरहेको देखियो । यसले गर्दा चौथो महाधिवेशन र माओवादी धारालाई एकतावद्ध गर्दै सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरौं भन्ने हाम्रो सोच र चाहना छ । त्यसको लागि संस्थागत, व्यक्तिगत रुपमा जसरी अघि बढ्न सकिन्छ त्यसरी नै जाने हो भनेर लागेको हो ।त्यो कारणले अहिले हामी जो जति सक्छौं त्यत्तिले नै पहल गरौं भन्ने भयो  ।

अरु पनि हुनुहुन्छ कि तपाइँरु चार जना मात्रै हो ? 

हामी चार जनाले त काठमाडौंमा भएका बेला एउटा सन्देश दिनका लागि मात्रै चार जनाले राजीनामा दिएका हौैं । पूर्व ब्यूरो ईञ्चार्ज, जिल्ला ईञ्चार्ज, डिसीएस थुप्रै छन । तल धेरै साथीहरु तयार हुनुहुन्छ ।

तपाइँरु प्रचण्डसँग र विप्लवजीसहित तपाइँहरुकै केही साथी एमालेसँग नजिक रहेकाे चर्चा पनि भैरहेको छ, कुरा के हो ?

अँ हो । केही साथीहरुको एमालेतिर झुकाव देखिन्छ । हामी चाँहि माओवादी धारातिर जाउँ भन्ने र केहीको एमालेतिर जाउँ भन्ने पनि देखिन्छ ।