देशको चाबी माओवादीसँग छ : प्रचण्ड

साझापोस्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कसरी अघि बढाउने भन्ने चाबी आफ्नो पार्टीको हातमा रहेको बताएका छन ।

ललितपुरमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले देश चलाउने चाबी जनताले आफ्नो पार्टीलाई दिएको दाबी गरेका हुन्। ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन् ।’ प्रचण्डले भने ।

सोचजस्तो परिणाम नल्याएपनि निर्णायक तेस्रो शक्तिको रुपमा माओवादीले मत ल्याएको र देशको नेतृत्वको जिम्मा आफ्नो पार्टीले पाएको प्रचण्डको जिकिर छ ।

‘हाम्रो पार्टीले सोचेको जति परिणाम  आएन। किनकी हामीले कम्तिमा पनि यो पटक गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले मेहनत गर्दा १७०-१७५ तिर आउँछ र वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आँकलन गरेका थियौं,’ उनले भने, ‘तर, हामी १२२ सिटमा सीमित भयौं। ’

आफूहरूले आँकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादी यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ । ‘ माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन् । अरुका लागि बढी भाछ,धेरै दस्तावेज मैले हेरेको छु । ठूलठूला अन्तर्राष्ट्रिय संस्थाले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् । ’