रामायण सर्किटमा चल्ने ‘भारत गौरव टुरिस्ट रेल’ जनकपुर आईपुग्यो

साझापोस्ट

जनकपुरधाम । धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे । करिब ५ सय धार्मिक पर्यटक बोकेर पहिलो पटक भारतबाट सिधै जनकपुर रेल आएको हो ।

रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुग्यो । दिल्लीबाट मंगलवार हिंडेको रेल जयनगरबाट नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरियो ।

रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।


पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइनेछ ।

रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छन ।