फाइनल खेलमा पानीभित्रै बेहोस् भइन् अमेरिकी पौडीबाज, यसरी गरियो उद्धार

साझापोस्ट

काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिप प्रतिस्पर्धाकै क्रममा पोखरीभित्रै बेहोस भएकी छन् । तर प्रशिक्षकले उनको समयमै उद्धार गरेपछि ज्यान जोगिएको छ ।

बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइने ।

तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस पोखरीमा पसेर पीँधबाट उनलाई बाहिर ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन ।

पोखरीबाट बाहिर निकाल्नेवित्तिकै अल्भारेजको होस खुलेको थियो । उनको तत्काल प्राथमिक उपचार गरिएको थियो । उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ ।

अल्भारेज प्रतिस्पर्धा गरिरहेको समयमा पोखरीभित्रै बेहोस भएको यो दोस्रोपल्ट हो । यसअघि सन् २०२१ मा बार्सिलोनामा सम्पन्न ओलम्पिक छनोट प्रतियोगितामा पनि उनी बेहोस भएकी थिइन् । त्यतिबेला पनि पोखरीभित्र छिरेर उनको उद्धार अहिलेकै प्रशिक्षक फ्युन्टेसले गरेकी थिइन् ।