महानगरको बजेट : काठमाडौंमा सबैभन्दा धेरै, एमालेले रातो किताब च्यातेपछि पोखरा नगरसभा अवरुद्ध

साझापोस्ट

काठमाडौं । मुलुकभरका स्थानीय तहले आज शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भित्र रहेर बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

काठमाडौंको बजेट २५ अर्व

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २५ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ। उपमेयर सुनिता डंगोलले नगरसभामा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ अनुमानित बजेटको कार्यक्रम आगामी बर्षका लागि प्रस्तुत गरेकी छन्।

स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ। जुन कुल बजेटको २‍.२४ प्रतिशत हुन आउँछ। कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि खर्च ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ। जुन कुल बजेटको २०.९६ प्रतिशत हुन आउँछ। पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैया छुट्याइएको छ। जुन कुल बजेट ४९.५७ प्रतिशत हुन आउँछ। सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ।जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ।

ललितपुरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरभन्दा ललितपुर महानगरको करिब १९ अर्ब कम बजेट ल्याएको छ । ललितपुरमा अब स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने भएको छ । खानेपानी र ढलले आफूखुसी सडक खन्ने क्रम रोकिने भएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

भरतपुर मा ५ अर्ब ७४ करोड
भरतपुर महानगरपालिकाको ११औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

विराटनगर महानगरको तीन अर्ब ६२ करोड

विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

वीरगंजले ल्यायो ३ अर्ब ३३ करोडको बजेट

मधेस प्रदेशको वीरगंज महानगरको ११औं नगरसभामा ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगर सभागृहमा भएको बैठकमा महानगर उपप्रमुख इम्तियाज आलमले अगामी आर्थिक वर्ष २०७९ ८० को लागि बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालु खर्चतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार विनियोजन गरिएको छ। आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने उल्लेख छ।

एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा नगरसभा अवरुद्ध

नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो ।