पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी, आजै निर्णय गरेर सार्वजनिक गर्ने

साझापोस्ट

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएपछि सरकारले भाउ घटाउने तयारी गरेको हो ।

त्यही निर्देशनका आधारमा सरकारले आजै पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत पेट्रोलियम पदार्थमाथिको कर कटौतीबारे जानकारी दिनेछन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी छ ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको छ। कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब परिरहेको छ ।