कांग्रेस र माओवादीले आफ्नो पार्टीमा खेल्न खोजेको एकीकृत समाजवादीको निष्कर्ष, नयाँ मन्त्रीलाई तत्काल शपथ गराउन माग

साझापोस्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले आफ्नो पार्टीमा खेल्न खोजेको निष्कर्ष निकाल्दै तत्कालै नयाँ मन्त्रीको शपथ गराउन माग गरेको छ । उक्त पार्टीको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले मन्त्री सिफारिस भएकालाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो ।

एकीकृत समाजवादीले पार्टीको निर्णय कार्यान्वयनमा भैरहेको ढिलाइलाई अपमानको रुपमा बुझ्ने समेत बताएको छ । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले तत्काल आफ्ना माग पुरा गर्नुपर्ने भन्दै अब धेरै पर्खन नसक्ने बताए । उनले भने, ‘अब ढिलो गर्नुभयो भने हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले हाम्रो पार्टीमा खेल्न खोजेको जस्तो देखिएको छ’ ।

उक्त पार्टीले पहिले पठाएका सिफारिसमा नाम हेरफेर नहुने पनि प्रष्ट पारेको छ । तीन साता अघि एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेको थियो । हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन भनिएको छ । मन्त्रीबाट फिर्ता बोलाईएका नेताले भने बैठकमा नाम हेरफेर गर्नुपर्ने बताएका थिए । तर खतिवडाले नाम संशोधन नहुने बताए ।