दोहोरी गायिका दिलमाया सुनार मृत फेला

साझापोस्ट

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकाे प्रहरी वृत्त बालाजुले जनाएकाे छ ।

शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

३० वर्षीया गायिका सुनारले चर्चित  लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

केही महिनाअघि भएको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।