दाङको सीमावर्ती क्षेत्रमा दुई नेपाली युवती बलात्कृत, चार भारतीय पक्राउ

साझापोस्ट

काठमाडौं । दाङको सीतावर्ती क्षेत्रमा भारतीय युवकबाट दुई नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न चारजना भारतीय युवक पक्राउ परेका छन् । चारजना नेपाली युवामाथि लुटपाट पनि भएको छ ।

आइतबार भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीलाई भारतीय युवकले दक्षिणतर्फको जंगलमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाका डिएसपी मुकुन्दप्रसाद रिजालले ४ युवा र २ युवती किनमेलका लागि मनिपुर बजार गएको बेला भारतीय युवकले जवर्जस्ती जंगलमा लगेर बलात्कार गरेका थिए ।

युवकलाई भारतीयले कुटपिट गर्नुका साथै सरसामान पनि लुटेका थिए । घटनालगत्तै युवतीले नेपालको प्रहरीलाई खवर गरेका थिए । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्ला हरैया थानाले आरोपी चार युवकलाई पक्राउ गरेको भनि जानकारी पठाएको डिएसपी रिजालले बताए । युवती अहिले भारतीय प्रहरीकै संरक्षणमा रहेका छन् । कानूनी प्रक्रियाका लागि उनीहरु भारतमै रहेको रिजालले बताए । त्यसक्षेत्रका नेपाली किनमेलका लागि भारतीय बजार जाने गरेका छन् ।