कमरेड माधव नेपाल र म !

योगेश भट्टराई

कमरेड माधव नेपालले हामीमाथि पटक-पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो ।

अनि मैले वहाँकै हित हुने गरी जीवनऊपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनशाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. वहाँमा थुप्रै राम्रा गुण छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन र यो जारी रहनेछ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिमतिर मात्रै जनताको वहुदलीय जनवादका पक्षमा खुल्नुभएको हो । हामी शुरुदेखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौं ।

४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट वहाँ पुन: पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

६. आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नुभयो । हामी वहाँसँग लागेनौं ।

७. नवौं महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिनँ । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ, राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होईन ।

पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनशाय होईन ।