लिफ्ट दिएकाले नै हातखुट्टा बाँधेर भिरबाट फाले, गाडी र रकम लुटियो

साझापोस्ट

काठमाडौं । कसैको भलो गर्न खोज्दा आफ्नै ज्यान जोखिममा परेको घटना सार्वजनिक भएको छ । कैलालीमा आफ्नो गाडीमा अपरिचितलाई लिफ्ट दिएका एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा भेटिएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्। उनलाई सोमबार एक समूहले हत्या गर्ने उदेश्यले भिरबाट फालेको पाईएको छ । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खवर गरेपछि घटना सार्वजनिक भएको हो ।

भण्डारीले गोदावरीको उकालोमा तीनजना मान्छेलाई गाडीमा लिफ्ट दिएको र पछि उनीहरुले नै आफूलाई कुटपिट गरी गाडी र रकम लुटेको बताएका छन् । उनलाई हात पछाडी बाँधेर मुखमा समेत कपडा बेरेर भिरबाट लडाईएको थियो । भण्डारीको अहिले धनगढीमा उपचार भैरहेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न पक्राउ परेका छैनन् ।