गठबन्धनका नेताहरूले समाजवादको कुरा गर्नु कार्यकर्ता अलमल्याउने कुरा मात्र – शंकर पोखरेल

साझापोस्ट

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र समाजवादको संकल्प एकसाथ अघि बढ्न नसक्ने बताएका छन् । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषयमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता पोखरलेलले कसैको रिसले बनेको गठबन्धनबाट मुलुकलाई फाइदा नहुने र समाजवादको संकल्प झुटो हुने दाबी समेत गरे ।

माओवादी अध्यक्ष प्रचण्ड,कांग्रेस नेता रामचन्द्र पौडेल,नेकपा एसका सम्मानित नेता झलनाथ खनाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोका चित्रबहादुर केसीसँगै रहेको मञ्चमा नेता पोखरेलले अहिले गठबन्धनका नेताहरूले समाजवादको कुरा गर्नु कार्यकर्ता अलमल्याउने कुरा मात्र भन्दै कांग्रेसलाई शिरमा राखेर कम्युनिस्टहरूले समाजवादको कुरा गर्नुको औचित्य नहुने बताए । पोखरेलले भने, ‘समाजवाद र गठबन्धनको संकल्प एकै पटक कसरी अघि बढ्छ ? यात्रा गठबन्धनको लक्ष्य समाजवादको भएपछि चुनौती नै यही हो । तपाईँहरूको एक मात्र उद्देश्य गठबन्धन छ भने अहिले समाजवादको लागि तयार हुनुहुन्न ।’