२७ जिल्लाका बालबालिकालाई आज कोरोना खोपको दोस्रो मात्रा लगाइँदै

साझापोस्ट

काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा दिन लागेको हो । जिल्लाका बालबालिकालाई खोप लगाउन विद्यालयमै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो।

दोस्रो मात्रा लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जानु पर्नेछ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो।

प्रदेश १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरमा खोप लगाईदैछ ।

यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । खोप अभियान साउन ८ गतेसम्म चल्नेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ।त्यसको दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाईनेछ ।