हे भगवान ! हाम्रा प्रदीप गिरिज्यूलाई छिट्टै सञ्चो गराइदेऊ

खगेन्द्र गिरि 'कोपिला'

मान्यवर श्री प्रदीप गिरिज्यूसँग हुन त मेरो थरभन्दा बाहेक अरु केही पनि मिल्दैन। उहाँ रामदत्ती गिरि हुनुहुन्छ, म रिद्धिनाथी गिरि।
बरु उहाँभन्दा पनि निकटको आत्मीयता र अपनत्व मेरो उहाँका भाइ साहित्यकार शेखर गिरिज्यूसंग छ। तैपनि कांग्रेसी वृत्तमा मलाई सबैभन्दा बढी मन पर्ने उहाँनै हो । तर मन पर्ने कुरा केही नभएर पनि यसरी मन पर्नुको कारण भने मलाई नै थाहा छैन।

उहाँलाई एउटा वृत्तमा नेपालको वीपीभन्दा पनि ठूलो समाजवादी चिन्तक मानिन्छ। तर उहाँलाई म “समाजवादी चिन्तक” भन्दा पनि “समाजवादी तर्कशास्त्री” मान्दछु। तर्क र भाव सम्प्रेक्षण उहाँले निकै राम्ररी गर्नु हुन्छ।समाजवादको चिन्तन त युरोपमा उहिल्यै भैसकेको हो। पेरिसमा डेट एक्सपाएर भएको फेसन बल्लबल्ल नेपालमा आइपुगेझैं युरोपमा डेट एक्सपाएर भएको समाजवाद पनि नेपालमा धेरैपछि मात्रै आइपुगेको हो।
सन् १९४७ मा भारतमा नेहरु सत्तामा पुगेपछि उनका विरोधीहरुमाझ नेहरुभन्दा फरक देखिन समाजवादी बन्ने होड चल्यो। सबै आफूलाई समाजवादी भन्न र देखाउन थाले। नेपालमा पनि २००७ सालको सेरोफेरोमा खुलेका हरेक पार्टीहरुमा समाजवादी देखिने होड चलेको थियो। कांग्रेसले पनि औपचारिक रुपमा २०१२ सालमा मात्रै “समाजवादी” को नीति अंगिकार गरेको थियो। २०१२ सालको वीरगंज महाधिवेशनमा पहिलो चोटी समाजवादको नीति बोक्नु पर्छ भनेर प्रस्ताव गर्ने पनि प्रदीप गिरिज्यूका काका डा. तुल्सी गिरि हुनुहुँदो रहेछ।

अचेल समाजवादको उद्भव भूमि युरोपमा आफूलाई समाजवादी भनेर चिनाउन बुद्धिजीवीहरु लाज मान्न थालिसकेका छन्। उताको समाजवादले progressive को चोला फेरिसकेको छ भने नेपालमा समाजवाद “पश्चिमी भोगवाद” मा रुपान्तरण भैसकेको छ।
अरुले समाजवादको पक्षमा तर्क दिंदा हाँसो उठे पनि प्रदीप गिरिज्यूले बोल्दा भने साँच्चै हो कि जस्तो लाग्दछ। स्रोताहरुलाई सम्मोहन र कल्पनाको अनौंठो मूर्च्छनामा बाँध्ने विलक्षण प्रतिभा छ उहाँसंग। बास्तवमा उहाँ कवि हुनु भएको भए राहत इन्दौरीभन्दा पनि बढी लोकप्रिय हुनुहुँदो हो !
राजनीति व्यापारमा रुपान्तरण हुँदै गएपछि तर्क चुट्किलाजस्तो र व्याख्या प्रहसनजस्तो देखिन थाल्छन्। तैपनि प्रदीप गिरिज्यू व्यापारमा रुपान्तरण भैसकेको नेपाली राजनीतिलाई सिद्धान्तको बाटोमा हिँडाउने असफल प्रयास गरिरहनु भएको छ। अचेल कांग्रेस भन्ने पार्टी माफियाको ग्याङ्गजस्तो भैसके पनि (हुन त उहिलेदेखिनै त्यस्तै चरित्रको हो) कांग्रेसलाई बेलाबेला सिद्धान्तको पानी छर्केर ब्युँझाइरहनु हुन्छ प्रदीप गिरिज्यू। उहाँका कुराहरु कांग्रेसी कार्यकर्ताहरुको लागि तीन घण्टे थ्रीडी फिल्मको रोमान्सजस्तै हुन्छन्।

कहिलेकाहीँ लाग्छ वीपीपछि कांग्रेसको नेतृत्वमा प्रदीप गिरिलाई ल्याएको भए वा २०४६ सालपछि उहाँले सरकारको नेतृत्व गर्ने अवसर पाएको भए के हुन्थ्यो होला? के उहाँले अहिले देखिएको र हामीले भोगेको इतिहासलाई फेर्न सक्नु हुन्थ्यो होला र?
अहँ सक्नु हुन्थेनँ ! समय र नियतिको आफ्नै लय हुन्छ।
तर यो यथार्थ हो कि …सत्ता राजनीतिदेखि टाढा र चुनावी राजनीतिमा पराजीत हुनु भएकोले नै उहाँ अहिलेसम्म चोखो, आकर्षक र चम्किलो रहनु भएको हो। सत्ता र चुनावदेखि अछुतो त्यही बौद्धिक वृत्तनै प्रदीप गिरिज्यूको संसार हो।
वास्तवमा उहाँ नेपालको सैद्धान्तिक राजनीति गर्ने अन्तिम पुस्ता हो।
प्रदीप गिरिज्यू अहिले सिकिस्त अस्वस्थ हुनुहुन्छ भन्ने सुन्दा धेरै दु:ख लागेको छ। उहाँले धेरै बाँच्नु छ अझैं। उहाँ बिना नेपालको बौद्धिक बहस खल्लो हुने छ। भरखर ७६ वर्षको हुनु भो उहाँ । अझैं दुई दशकको समयसम्म उहाँ आफ्नो उर्जा बाँड्न सक्नु हुन्छ।
उहाँ भौतिकवादी र नास्तिक मान्छे। उहाँले आफ्नो लागि कहिल्यै पनि भगवानको अगाडि हात थाप्नु भएन। म भने आज उहाँको आरोग्यताको निम्ति भगवानको अगाडि शिर निहुर्‍याएर प्रार्थना गर्छु- “हे भगवान ! हाम्रा प्रदीप गिरिज्यूलाई छिट्टै सञ्चो गराइदेऊ’