नेपाल बाहिरियो, भारत फाईनलमा

साझापोस्ट

काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १–० ले हराएसँगै नेपाल बाहिरिएको हो ।

भारतको जितमा गुरकिरत सिंहले ९० औं मिनेटमा गरेको गोल निर्णाय भयो । यसअघि बंगलादेशसँग १–१ बराबरी गरेको नेपाल भारत हारेको भए फाईनल पुग्ने थियो । तर समूह चरणको तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको नेपाल भारतको जितसँगै प्रतियोगिताबाट बाहिरियो ।

यस्तै खेलको इन्जुरी समयमा भारतका पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाए । थ्रो गर्न ढिलाई गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेलो कार्ड दिएका थिए ।तर, रेफ्रीविरुद्ध अपशब्द प्रयोग गरेपछि प्रज्वलले रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । अब उनले फाइनल खेल गुमाउने छन् ।

यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।भारतले ४ खेलमा ९ अंक जोड्यो ।अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।नेपाल ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।