सन् २०३० काे विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेको संयुक्त प्रस्ताव

साझापोस्ट

काठमाडौं । सन् २०३० काे  विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण अमेरिकी फुटबल महासंघ( कम्बोल)का अध्यक्ष अलेजेन्ड्रो डोमिनगुएजले बताएका छन । ‘यो एउटा सिंगो महादेशको सपना हो’, उनले भने ।

उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो । चिलीमा सन् १९६२ र अर्जेन्टिनामा १९७८ मा आयोजना भएको हो । २०२२ को विश्वकप कतारमा हुनेछ भने २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टुङ्गो लागिसकेको छ ।

अध्यक्ष डोमिनगुएज भन्छन्, ‘विश्वकप धेरै हुन्छन्, तर १०० वर्षमा एक पटक विश्वकप घरेलु मैदानमा आउनु पर्छ ।’ यस्तै उरुग्वे फूटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोलेले पनि सय वर्षमा आफूहरुले आयोजना गर्न पाउनुपर्ने बताएका छन ।‘विश्वकप १०० वर्ष पछि पुन त्यहि आयोजना गर्नु सही हुनेछ’, उरुग्वे फुटबल संघका अलोन्सोले भने ।

बेलायत र आयरल्यान्ड फुटबल संघले २०३० को आयोजनाका लागि प्रस्ताव पेस नगर्ने र २०२८ को युरो आयोजनामा ध्यान दिने बताएका छन् । फिफाले भने २०२४ मा मात्रै २०३० को आयोजक टुङ्गो लगाउने बताएको छ । २०३० विश्वकपका लागि स्पेन र पोर्चुगलले पनि संयुक्त आयोजनाको प्रस्ताव पेश गरेका छन् ।