अष्ट्रेलियाकी सांसदले शपथ लिने बेला बेलायती महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि ….

साझापोस्ट

काठमाडौं । अष्ट्रेलियामा एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा भएको छ । उनले दोहोर्‍याएर शपथ लिनु परेको छ ।

सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् ।

शपथ लिने स्थानसम्म पुग्दा दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी उनले शपथ लिँदै  भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’
उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकेर शपथको व्यहोरामा लेखिएका शब्दमात्र वाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिनु पर्यो । तर शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो फोटो राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ भनेर ट्वीट गरेकी छन् ।

गत साता शपथ ग्रहणमा अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् । अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ ।

९६ वर्षीया बेलायती महारानी एलिजावेथ अष्ट्रेलियाको समेत प्रमुख हुन । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो । यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए ।

सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन । सर्वेक्षणहरूमा अधिकांश अष्ट्रेलियाका नागरिक गणतन्त्रको पक्षमा देखिएका छन् । तर राज्यको प्रमुखका रुपमा रानीको स्थानमा संसदकै सदस्यमध्ये एक चुनिने वा अन्य जनप्रतिनिधि भन्ने विवादको टुंगो लागेको छैन ।