नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता गर्ने निर्णय

साझापोस्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)  र नेकपा (बहुमत)ले पार्टी एकता गर्ने निर्णय गरेका छन ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६-६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

क्रान्तिकारी मा‌ओवादीबाट महासचिव मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, रामसिंह श्रीस, परि थापा, हरिभक्त कंडेल, र  इन्द्र मोहन सिग्देल छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य छन् ।

संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चनले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

नेकपा बहुमतका संयोजक बास्तोलाले छलफल चलाउँदै जाने र जतिसक्दो छिटो पार्टी एकताको प्रकृया पूरा हुने बताए ।  ‘संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूर्णता दिन्छ’ बास्तोलाले साझा पोष्टसँग भने, ‘ जतिसक्दो छिटो एकतालाई पूर्णता दिन्छौं ।’

उनले संसदमा रहेका वामपन्थीसँगको एकताका बारेमा भने अहिले नै छलफल नभएको बताए ।  विप्लव नेतृत्वको नेकपासँग अलग भएपछि धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा बहुमत गठन भएको थियो ।