उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट सीके राउत चुनाव लड्ने

साझापोस्ट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्र सप्तरी- २ बाट उम्मेदवारी दिने भएका छन् ।

भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकले सप्तरी क्षेत्र नम्बर २ बाट राउतलाई चुनावमा उठाउने निर्णय गरेको हो । अब औपचारिक बैठकले पनि अध्यक्ष राउतलाई सप्तरी- २ बाट चुनावमा उठाउने निर्णय गर्ने महासचिव चन्दनसिंहले जानकारी दिए ।यसका लागि औपचारिकता मात्रै बाँकी रहेको उनले बताए ।

२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवले फेरि त्यहीँबाट चुनाव लड्ने गरी चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।

‘उपेन्द्रजी बाहिरबाट आउनुभएको हो । सप्तरी २ हाम्रो अध्यक्षको गृह क्षेत्र हो त्यसैले उहाँ यहीँबाट चुनाव लड्नुहुन्छ । ’ सिंहले साझा पोष्टसँग भने– अब उपेन्द्रजी के गर्नुहुन्छ, सुनसरी जानुहुन्छ कि मोरङ ? त्यो उहाँको कुरा हो ।’
सिंहले सप्तरीमा पार्टीको संगठन पनि रहेको र काम पनि गरिरहेकोले बताए ।

२०६४ साल यता उपेन्द्र यादवले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका  यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए ।
सरकारले बिहीबार  मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ ।